पप्पु रेग्मी, बर्दघाट, ३-पौष ।
बर्दघाट उद्योग वाणिज्य संघ बर्दघाट पश्चिम नवलपरासीकाे आयाेजनामा बर्दघाट महोत्सव २०८१ बर्दघाट–४ हरियाली नगर बर्दघाटमा सञ्चालन हुने भएको छ ।
बर्दघाट उद्योग वाणिज्य संघकाे कार्यालयमा मङ्गलवार पत्रकार सम्मेलनकाे आयाेजना गरि मेला सञ्चालन गर्ने बारेमा आयोजक संस्थाका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी गराउनु भएको हाे ।
उहाँले “कृषि, उद्योग, व्यापार, कला र संस्कृति समग्र बर्दघाटको उन्नति” भन्ने मूल नाराका साथ आठौं व्यापार मेला पाैष ८ गते देखी १८ सम्म सञ्चालन गरिने मेलामा बर्दघाट नगरलाई कृषि, पर्यटन, संस्कृति र औद्योगिक नगरका रूपमा स्थापित गर्ने तथा उपभोक्तालाई नगर भित्रै किनमेल गर्न अभिप्रेरित गर्ने, मेलाले सांस्कृतिक संरक्षण र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव गर्न लागेकाे बताउनुभयाे । मेला संचालनमा गर्नकालागि करिब ६० देखि ७० लाख रुपैयाँ खर्च लाग्ने र मेलामा कृषिजन्य, लत्ताकपडा तथा खाद्यान्न सहित २ सय ५० स्टल रहने अध्यक्ष न्याैपानेले बताउनुभयो।
देैनिक उपभोग्य वस्तु, लघु घरेलु उत्पादन, जडीबुटी लगाएत मेलामा मुख्य आकर्षणको रुपमा आरटि फिसियल फिस टनेल रहने छ र मेलामा करिव ३ करोड रूपैयाँ बराबरको कारोवार हुने अपेक्षा सहित मेला सञ्चालनको लागि पहल गरीएको बर्दघाट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तारा गौतमले बताउनु भयाे ।
मेला प्रवेशमा टिकट दर ८० रुपैँया रहे पनि विद्यार्थीलाई ६० रुपैयाँ र सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका जेष्ठ नागरिकहरूलाई कार्डका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यसैगरी, उद्योग वाणिज्य संघमा आबद्ध रहेका ब्यवसायीले व्यवसाय गर्न चाहेमा ५० प्रतिशत सम्म छुटको व्यवश्था गरिएको बताईएकाे छ । ब्यापार मेलाले नवलपरासी जिल्लाको बर्दघाट नगरलाई पर्यटकीय नगरीको रुपमा परिचित गराउँदै यस क्षेत्रका धार्मिक, ऐतिहासिक, मौलिक संस्कृतिलाई प्रचार प्रसार गर्न सहयोग पुग्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।