फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पद सम्हालेको २६ दिनमै राजीनामा दिएका छन्। उनले सेप्टेम्बर ९ मा पदभार ग्रहण गरेका थिए भने अक्टोबर ६ मा राजीनामा दिए, जुन राष्ट्रपति इमानुएल म्याक्रोनले स्वीकृत गरेका छन्। आइतबार मात्र उनले नयाँ मन्त्रिपरिषद् घोषणा गरेका थिए, तर १२ घण्टापछि नै राजीनामा दिँदै सबैलाई आश्चर्यचकित पारे।
लेकोर्नु पछिल्ला १३ महिनाभित्र फ्रान्सका चौथो प्रधानमन्त्री बनेका थिए। यसअघि प्रधानमन्त्री फ्राँस्वा बायरूले संसद्बाट विश्वासको मत नपाएपछि राजीनामा दिएका थिए। नयाँ मन्त्रिपरिषद् गठनमा असन्तुष्टि बढ्दै गएपछि लेकोर्नु पनि टिक्न सकेनन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रपति म्याक्रोनको समेत राजीनामा माग गरेका छन्।
फ्रान्समा बारम्बार प्रधानमन्त्री परिवर्तन हुनुको मुख्य कारण राजनीतिक अस्थिरता र संसद्मा स्पष्ट बहुमतको अभाव हो। वामपन्थी, दक्षिणपन्थी र म्याक्रोनको केन्द्र–दक्षिणपन्थी गठबन्धनबीच सहमति नहुँदा नीति तथा बजेट पारित गर्न कठिनाइ भएको छ। अब म्याक्रोनका सामु तीन कठिन विकल्प छन् — नयाँ प्रधानमन्त्री नियुक्ति, नयाँ निर्वाचन, वा राजीनामा। विश्लेषकहरूका अनुसार कुनै पनि विकल्पले फ्रान्सको राजनीतिक संकट तत्काल समाधान गर्न सक्ने देखिँदैन। बीबीसी















