पप्पु रेग्मी,बर्दघाट, २३ बैशाख २०८१ ।
नेपाल औषधि व्यवसायी संघ जिल्ला कार्य समितिको चौथो साधारण सभा पश्चिम नवलपरासी जिल्लाको बर्दघाटमा शनिवार सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ जिल्ला कार्य समितिका जिल्ला अध्यक्ष डाक्टर हेमन्त राज न्यौपानेको अध्यक्षता, नेपाल औषधि व्यवसायी संघ लुम्विनी प्रदेश समितिका अध्यक्ष लुकराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघ लुम्विनी प्रदेश समितिका अध्यक्ष न्यौपानेले प्रमुख अतिथिको आसनबाट बोल्दै, औषधी व्यवसाय एक मर्यादित, सम्बेदनसिल जोखिमपूर्ण व्यवसाय भएकोले नाफालाई भन्दा सेवाको भावनालाई प्राथमिकतमा राखी सेवा गर्दै आएको बताउदै, औषधी व्यवसायीहरुले नेपाल सरकारको नीति नियममा रहि नेपाल औषधी विभागबाट निर्देशित औषधीहरुको प्रयोग गर्नु पर्ने र दर्ता नभएका, प्रतिवन्धित औषधीहरुको कुनै पनि व्यवसायीहरुले बिक्री वितरण गरेको पाईएमा कार्यवाही हुने भएकोले, कार्यवाहीको भागिदार व्यवसायी स्वयं आफैले व्यहोर्नु पर्ने हुदा, महासंघले कुनै पनि सहयोग नगर्ने बताउदै, व्यवसायीहरुलाई सचेत रहन आग्रह गर्नुभयो । उहाँले औषधीको उचित आपूर्ति तथा विरामीको आवश्यकता अनुसार नियम भित्र रहि चिकित्सकको सिफारिश बमोजिम विरामीलाई विक्री वितरण गरि सेवन गर्ने तरिका बताउनु पर्ने, परिणाम विधि र औषधी सेवन गरि सके पछिका असरका वारेमा पनि जानकारी गराउनु पर्ने बताउनुभयो ।
साधारण सभामा जिल्ला अध्यक्ष डाक्टर हेमन्त न्यौपानेले अध्यक्षको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने, संस्थाका महासचिव बाबुराम तिमिल्सनाले सांंगठानिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसै गरि कोषाध्यक्ष अवदेश यादवले कोषाध्यक्षको आर्थिक प्रतिवेदन आर्थिक वर्ष २०७९ / ८० को २ लाख ८२ हजार १ सय १२ रुपैयाँ बराबरको आय–व्ययको विवरण प्रस्तुत गर्नु भएको प्रतिवेदन साधारण सभाले पारित गरेको छ ।
कार्यक्रममा प्रेस क्लव बर्दघाट नवलपरासी अध्यक्ष कुस्माखर ढकाल (कृष्ण), सल्लाहाकार पलकधारी प्रसाद गुप्ता, जिल्ला ईन्चार्ज थानेश्वर ज्ञवाली, व्यवसायी युवराज घिमिरे, बाबुराम पौडेल लगाएतले बोल्नु भएको थियो ।
संस्थाका निवर्तमान अध्यक्ष राम चन्द्र पौडेलको स्वागत मनतव्य रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव बाबुराम तिमिल्सनाले गर्नुभएको थियो ।