नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी इकाईहरुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याउँदै गरेको मालसामान पक्राउ गरि कारवाही चलाएकाे छ ।
विभिन्न समय तथा विभिन्न स्थानबाट अन्दाजी रू. ३ लाख ९४ लाख ४ सय १७ बराबरको निम्नानुसारको सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको जनाएकाे छ ।
प्रहरीले नारायणी नदीको बिभिन्न स्थानहरुबाट अबैध रुपमा दोहन कार्यमा संलग्न सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएकोमा ३ वटा सवारी साधनबाट रू.१ लाख ७५ हजार बराबरको राजश्व असुल भएको जनाएकाे छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय सुनवल र अस्थायी प्रहरी बिट भुमहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनवल नगरपालिका वडा नं. १२ भुमही चोक स्थितबाट बिभिन्न प्रकारका सामानहरु अन्दाजी मूल्य रू. २ लाख १० हजार ६ सय ६० बराबरको नियन्त्रणमा लिई महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।
प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले जिल्ला नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहिया स्थितबाट बिभिन्न प्रकारका औषधीहरु अन्दाजी मूल्य रू. ९६ हजार ७ सय ४२ बराबरको नियन्त्रणमा लिई महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिकाका बिभिन्न स्थानहरुबाट १ सय ५५ केजी प्याज र खुद्रा सामाग्रीहरु अन्दाजी रू. ७० हजार १५ बराबरको नियन्त्रणमा लिई महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।
इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ गणेशपुर स्थितबाट युरिया मल १४ बोरा र चिनी २ बोरा गरी अन्दाजी मुल्य रू.२२ हजार बराबरको नियन्त्रणमा लिई महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी नर्सहीबाट खटिएको प्रहरी टोलीले नारायणी नदीबाट अबैध रुपमा उत्खनन् गरी ओसार पसार गर्दै गरेको अवस्थामा ६ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित गाउँपालिकामा पठाइएको जस मध्ये ३ वटा सवारी साधनबाट रू.१ लाख ७५ हजार जरिवाना असुल भएको प्रेस विज्ञप्ति जारी गरि जनाएकाे हाे ।