न्युजडेस्क: आज अपराह्न ५ः०० बजेसम्म प्राप्त विवरणअनुसार २४९ वडाको मत परिणाम प्राप्त भइसकेको छ । हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी हुनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर नगरपालिकाको मतगणना कार्य सम्पन्न भई मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
सप्तरी जिल्लाका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा वडाको मत परिणाम सार्वजनिक भएको हो । प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी नै रहेको छ । सप्तरी जिल्लाको राजविराज नगरपालिकाको वडा नंं १५ मा राजपाका वडाध्यक्षका उम्मेदवारको निधन भई स्थगन भएको निर्वाचन भोलि असोज ५ गते मतदान हुने कार्यक्रम रहेको छ ।
मतगणना जारी रहेका १३४ स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना कार्य सञ्चालन भइरहेको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) ले जनाएको छ ।
मतगणना कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्न विभिन्न मतगणनास्थलमा निर्वाचन अधिकृतले थप मतगणना टोली गठन गरी मतगणना कार्य अघि बढाइरहेको जानकारी प्राप्त भएको छ । पछिल्लो समय ३३२ टोली मतगणनाका लागि खटिएको आयोगले जनाएको छ ।
एकाध ठाउँमा मतगणना अवरुद्ध भएकामा मतगणना कार्य सञ्चालन गर्नका लागि सर्वदलीय सहमतिको प्रयास भइरहेको जानकारीसमेत आयोगलाई प्राप्त भएको छ ।