बर्दघाट, ७ माघ २०८२।
डम्बरभार सामुदायिक वन उपभोक्ता समूह, सुनवल–११ मिश्रौली, पश्चिम नवलपरासीको १२औँ साधारणसभा तथा चौथो अधिवेशन बुधबार सामुदायिक वनको कार्यालयमा सम्पन्न भएको छ।
समूहका अध्यक्ष टंकनाथ पराजुलीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै मन्त्री कलवारले नेपाल स्रोतसाधनले सम्पन्न भए पनि सोच र व्यवस्थापनको कमजोरीका कारण पछाडि परेको बताउनुभयो।
“हामी स्रोतले धनी भए पनि मानसिकताले गरिब छौँ। इमान्दारी, देशप्रेम, जनताप्रतिको जिम्मेवारी र विकासप्रतिको सोचका साथ काम गर्न सके हाम्रो देश विश्वकै सुन्दर राष्ट्र बन्न सक्छ,” उहाँले भन्नुभयो।
मन्त्री कलवारले किसानलाई खेतका आलिमा समेत रुख रोप्नु पर्ने, स्थानीय तहलाई खाली जग्गामा तारबार गरी वृक्षारोपण गर्न तथा प्रदेश सरकार र सामुदायिक वन उपभोक्ता समूहलाई वृक्षारोपण अभियान तीव्र बनाउन आग्रह गर्नुभयो।
“आज रुख रोपेनौँ भने भोलि हाम्रो सन्ततिले के काट्ने?” भन्दै उहाँले दीगो वन व्यवस्थापनका लागि अहिले नै लगानी आवश्यक रहेकोमा जोड दिनुभयो।
सभामा अध्यक्ष टंकनाथ पराजुलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सचिव सावित्री बुढाथोकीले २०८१/ ८२ मा सम्पन्न कार्यक्रमहरूको विवरण प्रस्तुत गर्नुभयो।
त्यस्तै, कोषाध्यक्ष बालकृष्ण पाण्डेले आर्थिक वर्ष २०८१/८२ का लागि करिब ५७ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नुभयो।
लेखा संयोजक तारा प्रसाद भुर्तेलले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाले सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
कार्यक्रममा संस्थाका पूर्व सचिव दामोदर लामिछाने, सामुदायिक वन महासंघ नेपालकी शारदा पोखरेल, सुनवल सब–डिभिजन वन कार्यालयका प्रमुख मणि प्रसाद खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
बरिष्ठ उपाध्यक्ष अवधराज यादवले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सञ्चालन उपभोक्ता सदस्य रेशम कण्डेलले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
डम्बरभार सामुदायिक वन उपभोक्ता समूहमा हाल १,४४५ घरधुरी आबद्ध रहेका छन्।















