काठमाण्डाैं । सुन तस्करीको आरोपमा प्रहरी हिरासतमा रहेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिने शाखा अधिकृत पक्राउ परेका छन् ।
बागमती प्रदेशसभा सचिवालयमा कार्यरत छैठौं तहका अधिकृत रामचन्द्र अर्याल बुधबार हेटौंडाबाट पक्राउ परेका हुन् ।
अर्याललाई काठमाडौंको ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट वाग्मती प्रदेशसभा सचिवालयमा सरुवा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको आग्रहमा अर्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले जानकारी दिए । अर्याललाई काभ्रे पठाइएको छ ।
अर्यालमाथि जिल्ला प्रशासन कार्यालय काभ्रेमा नायब सुब्बाका रुपमा कार्यरत रहेका चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिन सहयोग गरेको आरोप लागेको छ ।
प्रहरी अनुसन्धानबाट काभ्रे जिल्ला प्रशासन कार्यालयका अधिकारीले चिनियाँलाई वंशजको आधारमा नेपाली नागरिकता दिएको खुलासा भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि घटनाको अनुसन्धान गरिरहेको छ ।
काभ्रे जिल्ला प्रशासन कार्यालयले सन् २०१८ जनवरीमा तिब्बती मूलका बेल्जियमका नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावा जिन वाङको नाममा वंशजको आधारमा नेपाली नागरिकता जारी गरेको थियो ।
अर्यालले ती नाम कम्प्युटर प्रणालीमा राखेको अनुसन्धानबाट खुलेको हो ।
दावाले निमा तामाङको नाममा नेपाली नागरिकता लिएका थिए भने वाङले पासाङ तामाङ राखेर नागरिकता लिएका थिए ।
नागरिकता दिन सहयोग गर्ने अर्का सरकारी अधिकारी झपेन्द्रराज खरेलमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।