1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

चिनियाँ गिरोहले एक वर्षमा २८ सय ३१ केजी सुन तस्करी गरेको सिआइबीको निष्कर्ष 

spot_img
spot_img

चिनियाँ गिरोहले विभिन्न सामानभित्र लुकाएर एक वर्षमै दुई हजार आठ सय ३१ केजी सुन नेपालमा तस्करी गरेको निष्कर्ष प्रहरीले निकालेको छ । ‘ब्रेक सु’मा लुकाएर विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गर्ने क्रममा एक वर्षसम्म उनीहरूले सयौँपटक सुन तस्करी गरेको विवरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फेला पारेको हो । 

यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत ३१ भदौमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो सात सय १६ ग्राम सुन बरामद भएको थियो । सो समूहले थप सुन तस्करी गरेको तथ्य विस्तृत अनुसन्धानबाट खुलेको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बताए । ‘हामीले विभिन्न विशेषज्ञ र प्राविधिकहरूसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गरेका थियौँ,’ उनले भने, ‘जसमा उनीहरूले धेरै सुन तस्करी गरेको पुष्टि हुन्छ, यसमा अब छुट्टै अभियोजन हुन्छ ।’ 

एसएसपी दिनेश आचार्य, सिआइबी
हामीले विभिन्न विशेषज्ञ र प्राविधिकहरूसमेतको सहयोग लिएर सुन तस्करीको घटनामा विस्तृत अनुसन्धान गरेका थियौँ, जसमा चिनियाँ गिरोहले थप सुन तस्करी गरेको देखिन्छ । यसमा थप अनुसन्धान गरी छुट्टै अभियोजन हुन्छ । 

उनीहरूले ब्रेक सुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मिसिनलगायत सामानभित्र लुकाएर दुई हजार आठ सय ३१ केजी सुन तस्करी गरेको सिआइबी स्रोतले बतायो । ‘कतिपयमा ब्याट्री हुने ठाउँमा सुन राखेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘ती सामान सुन लुकाउनकै लागि ल्याइएको थियो भन्ने सूक्ष्म अनुसन्धानबाट पुष्टि हुन्छ ।’ 

प्रहरीले चिनियाँहरूले सुन पगाल्न टोखामा बनाएको टहरासहित लाजिम्पाट, सोह्रखुट्टे, बाँसबारीलगायत घरमा स्टोर गरिएका सामानको विश्लेषण गरेको थियो । विदेशबाट आयात गरिएका ती सबै सामान सुन निकालेर राखिएका थिए । आयात गरेको सामानको विवरणका साथै कुन मेसिनमा कति सुन लुकाइएको थियो भन्ने प्राविधिक रूपमा विश्लेषण गरेर सिआइबीले दुई हजार आठ सय ३१ केजीको हिसाब निकालेको हो । यसका लागि सुन, चाँदी तथा फलामसम्बन्धी विज्ञहरूलाई समेत साथमा लिएर सिआइबीले अनुसन्धान गरेको हो । 

मेसिनभित्र लुकाएर ल्याइएको सुन विमानस्थलस्थित भन्सारको एक्सरेले पत्ता नलगाउने भएकाले यसरी एक वर्षसम्म सुन तस्करी गरेको सिआइबीका अधिकारी बताउँछन् । तस्करी गरेको धेरैजसो सुन उनीहरूले भारत पुर्‍याउने गरेको अनुसन्धानबाट पुष्टि भइसकेको छ । भारततर्फ सुन तस्करीमा जोडिएका धेरै व्यक्तिको पहिचान प्रहरीले पत्ता लगाउन सकेको छैन । 

भन्सार कानुनका सुविधा दुरुपयोग गरी तस्करी 
नेपालको भन्सारसम्बन्धी कानुनी प्रावधानअनुसार पाँच सय डलरसम्मको सामान आयात गर्दा प्रतीतपत्र (एलसी) खोल्नुपर्दैन । तर, एउटा कम्पनीले कति पटकसम्म पाँच सय डलरसम्मको सामान प्रतीतपत्र नखोली ल्याउन पाउने भन्ने प्रस्टता छैन । सोही कानुनी अस्पष्टताको फाइदा सुन तस्करले उठाएका हुन् । उनीहरूले पाँच सय डलरसम्मको सामान पटक–पटक आयात गर्ने र त्यसभित्र सुन लुकाएर ल्याउने गर्थे । 

‘एक वर्षमा निश्चितपटक मात्र एलसी नखोली सामान ल्याउने प्रावधान राख्नुपर्ने देखियो,’ सिआइबीका एक अधिकारीले भने, ‘अवैध कारोबार गर्नेहरूले यो सुविधाको व्यापक दुरुपयोग गरेका छन् ।’ एलसी खोलेर सामान आयात गर्दा बैंकिङ कारोबार हुने भएकाले त्यसलाई छल्नकै लागि उनीहरूले पाँच सय डलरका सामानका नाममा सुन तस्करी गरेका हुन् । 

अर्काेतर्फ भन्सारका कर्मचारीको पनि प्रशस्त कमजोरी देखिएका छन् । भ्याटमा दर्ता भएको कम्पनीलाई मात्र भन्सारले एक्जिम कोड दिनुपर्नेमा सुन तस्करीमा मुछिएका रेडी ट्रेडलगायत कम्पनीलाई भ्याटमा दर्ता नै नभई एक्जिम कोड जारी गरेको पाइएको छ । यस विषयमा भन्सारका कर्मचारीमाथि समेत सिआइबीले थप छानबिन अघि बढाएको छ । सभारः नयाँ पत्रिका

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme