काठमाण्डाैं, २ असार ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिएका छन् । विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टरमार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो । खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय शेर्पाको पछिल्लो समय काठमाडौँको ह्याम्स अस्पतालमा केमो थेरापी गराइएको थियो ।
चिकित्सकका अनुसार शल्याक्रिया गर्नुपर्ने भए पनि तौल कम हुँदा उपचार गर्न नसकिएको हो । स्वास्थ्य अवस्था स्थिर देखिएका कारण चिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याएको प्रवक्ता शेर्पाले बताए । दश महिना पहिले भारतको मेदान्त अस्पतालमा भर्ना भएका शेर्पाले त्यहाँ दुई महिनासम्म रेडियो थेरापी गराएका थिए । त्यसपछि स्वीट्जरल्याण्डमा पनि थप उपचार गराएर काठमाडौँ फर्किएका शेर्पाले पछिल्लो समय ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए ।