यस्तै चितवनलगायतका तराईका केही जिल्लामा डेंगी र देशका धेरैजसो ठाउँमा मौसमी रुघाखोकी देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार अरु समयमा भन्दा यो समय विभिन्न रोगको जोखिम उच्च हुन्छ ।
कुन-कुन रोगको जोखिम ?
अहिले देखिने मुख्य रोग भनेको स्क्रब टाइफस हो । डेंगी र मौसमी रुघाखोकी पनि यो समयमा लाग्ने गर्छ । गएका वर्षहरुमा यतिबेला टेकु सहित अरु विभिन्न अस्पतालहरुमा बिरामीको भिड हुने गथ्र्यो । तर यो वर्ष टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई कोरोना अस्पताल बनाइएको छ । अरु विभिन्न अस्पतालहरुमा भने यस्ता रोगका बिरामीहरु बढ्न थालेका पाइएको डाक्टर पुनले बताउनुभयो ।
उहाँका अनुसार अहिले विभिन्न अस्पतालमा बढीजस्तो स्क्रब टाइफसका बिरामी उपचारको लागि पुग्ने गरेका छन् । स्क्रब टाइफस मुसामा लाग्ने एक प्रकारको किर्नाजस्तै माइट नामक सङ्क्रमित जीवाणुको टोकाइबाट लाग्ने गर्छ । प्रायःजसो यो जीवाणु, झाडी, खेतबारी, वनजंगल र घुरान हुने ठाउँमा देखिने गर्छ ।
मानिसबाट मानिसमा यो रोग सर्दैन । तर मुसाको एक प्रकारको तरल पदार्थ खाएर अघाएपछि माइट जातको किर्ना झारमा झर्छ । र त्यही झारमा मानिस पुग्दा टाँसिन्छ र सङ्क्रमितले टोक्दा सर्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिन्छन् ।
डेंगी पनि यो समयमा नै देखिन्छ । गएको वर्ष धरानबाट सुरु भएर यतिबेला देशका विभिन्न ठाउँमा डेंगीका बिरामी भेटिएका थिए । यो वर्ष पनि चितवनलगायतका केही ठाउँमा देखिन थालिसकेको छ । डेंगी रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्छ । जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ ।
धेरैजसो ४ देखि ७ दिन भित्रमा रोगको लक्षण देखिन्छ । ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने, छालामा रातो रातो दागहरु देखा पर्ने यसका लक्षणहरु हुन् । अहिले धेरैजनामा मौसमी रुघाखोकी पनि देखिन थालको छ । कतिपय मानिस मौसमी रुघाखोकी हुँदा पनि कोरोना भएको हो कि भनेर आत्तिने गरेका पाइन्छ ।
मौसमी रुघाखोकी र कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी लाग्दैमा कोरोना लाग्यो भनेर आत्तिन नपर्ने डाक्टर पुन बताउनुहुन्छ । तर सचेत भने हुनुपर्ने उहाँको भनाइ छ ।
स्क्रब टाइफसबाट बच्ने उपाय :
– खेतबारीमा काम गर्दा, वनजंगल वा झाडीमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने ।
– घाँस भएको ठाउँमा वा चौरमा बस्दा गुन्द्री या अरु केही ओछ्याएर बस्ने ।
– सकेसम्म घाँसबारी वा चौरमा बस्दै नबस्ने ।
– घरवरपर झाडी बढ्न नदिने ।
– मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने ।
डेगीबाट बच्ने उपाय :
– लामखुट्टेको टोकाइबाट बच्ने ।
– पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फूलदानी, खाली बट्टा, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने ।
– पानीका ट्याङ्की लामखुट्टे छिर्न नदिने गरी ढाकेर राख्ने ।
– फूलदानी वा गमलाहरुमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने ।
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने ।
– घरका झ्याल, ढोकामा जाली लगाउने ।
रुघाखोकीबाट बच्न :
– हिँड्दा मास्क लगाएर हिँड्ने
– खानेकुरा र सरसफाईमा ध्यान दिने ।
– पानी उमालेर मात्रै पिउने ।
– साबुनपानीले हात धुने ।
उपचारमा समस्या
कोरोना सङ्क्रमितको संख्या दिनदिनै बढिरहेको छ । तर अस्पतालमा स्रोत साधनको कमी भएको सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर अनुप बास्तोला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोनाका बिरामीले अस्पताल भरिएका छन् । धेरैजसो डाक्टर तथा नर्स त्यसैमा केन्द्रीत हुनुपर्ने अवस्था छ । कतिपय डाक्टर तथा नर्स समेत सङ्क्रमित भएका छन् ।’
अस्पतालमा उपकरण तथा औषधिको अभाव एउटा चुनौती छ । अर्कोतर्फ अहिले देखिएका कतिपय रोगहरुका लक्षण कोरोनासँग मिल्दोजुल्दो भएकोले धेरै आत्तिएका छन् । लकडाउन खुले पनि देशका कतिपय ठाउँमा फेरि निषेधाज्ञा लागू गरिएकाले बिरामीहरु अस्पतालसम्म पुग्न समस्या भएको छ । अर्कोतपर्फ कतिपय मानिस भने कोरोनाको डरका कारण अस्पताल नगएका पनि हुन सक्छन् । कोराेनाका डरले मानिसहरु अस्पताल गएनन् भने अरु रोगको जोखिम झन् बढेर जान सक्ने उहाँ बताउनुहुन्छ । उज्यालाे